
बिर्तामोड, पुस २४ । पूर्वी नेपालमा पहिलोपटक कम्प्युटर शिक्षाको अध्ययन सुरु गरेको इतिहास बोकेको झापा बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले यही शैक्षिकसत्रबाट स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


कलेजमा आयोजित पत्रकार सम्मेलनमार्फत चालु शैक्षिकसत्रबाट मास्टर अफ बिजनेस एड्मिनिसट्रेसन (एमबिए) र मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसिए) स्नातकोत्तर तहको कक्षा सञ्चालन गरिने जानकारी दिइयो ।


पूर्वमा विराटनगरमा बाहेक झापामा स्नातकोत्तर तहको एमबिए र एमसिएको कक्षा सञ्चालन गर्ने पहिलो कलेज गोमेन्द्र भएको महाविद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए ।


पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गोमेन्द्र महाविद्यालयले स्नातकोत्तर तहको एमबिए र एमसिएको कक्षा यसै वर्षदेखि सञ्चालन गर्ने डा. खनालले बताएका छन् ।

स्नातकोत्तर तहको विभागीय प्रमुखमा प्राडा पृथ्वी राई रहेको जनाइएको छ । प्राडा राईको नेतृत्वमा एमबिएतर्फ विमल राजवंशी र एमसिएतर्फ सुनिल शर्माको संयोजकत्वमा कक्षा सञ्चालन हुने डा. खनालले बताए । पिएचडी र एमफिल गरेका अध्यापकहरुबाट अध्यापन गराइने जनाइएको छ ।

एउटा संकायमा ३३ जना रहने एमबिए र एमसिएमा ३३ जना विद्यार्थीमध्ये तीन जनालाई छात्रवृत्ति पूर्वाञ्चल विश्वविद्यालले छुट्याउने डा. खनालले बताए । डा. खनालका अनुसार २ वर्षको कोर्स रहने एमबिए र एमसिएको लागि ३ लाख ५० हजार रुपैयाँ शुल्क लाग्नेछ ।

पत्रकार सम्मेलनमा शिक्षासेवी तथा महाविद्यालयका संस्थापक अध्यक्ष गणेशप्रसाद खनालले कृषि शिक्षामा पनि जोड दिनुपर्ने बताए । पत्रकार सम्मेलनमा महाविद्यालयकी संस्थापक बुध खनाल, उप–प्राचार्य शरु खनाललगायतको उपस्थिति रहेको थियो ।
२०५३ सालमा स्थापना भएको महाविद्यालयले सुरुका वर्षमा उच्च माध्यमिक शिक्षा परिषदबाट स्वीकृति लिएर कक्षा ११ र १२ सञ्चालन गर्दै आएको थियो ।
पत्रकारिता तथा कम्प्युटर विज्ञानको कक्षा पूर्वाञ्चलमै पहिलोपटक सुरु गरेको महाविद्यालयले पूर्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
२०५६ सालमा विज्ञान तथा प्रविधि संकायतर्फ बिसिए र २०६२ सालदेखि व्यवस्थापन संकायतर्फ बिबिए पठनपाठन सुरु गरी प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको छ ।