२०८२ बैशाख १५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गाउँपालिकाले प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने, ४६० विद्यार्थीलाई साइकल


बिर्तामोड, माघ ४ । झापा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न हरेक वर्ष १२ हजार रुपैयाँ सहयोग सुरु गरेको छ ।

उच्च शिक्षा अध्ययनको क्रममा कुनै पनि विद्यार्थीले प्राविधिक विषय लिएर अध्ययन गर्न चाहे प्रोत्साहन स्वरुप गाउँपालिकाले १२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

उनले पढाइप्रति प्रेरित गर्न विद्यार्थीलाई प्रोत्साहन रकम दिन सुरु गरेको जानकारी दिए । विद्यार्थी डाक्टर, इन्जिनियर, नर्स या ल्याब टेक्निसियन जुनसुकै विषय अध्ययन गरे गाउँपालिकाले १२ हजार रुपैयाँ प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउनेछ ।

यसैबीच, गाउँपालिकाले यो वर्ष पनि गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका ४६० जना विद्यार्थीलाई एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराएको छ । साइकल पाएपछि विद्यार्थीहरु उत्साहित देखिएका थिए ।

गाउँपालिकाले कक्षा-९ मा अध्ययनरत् सबै विद्यार्थीलाई साइकल वितरण गरेको हो । झापा गाउँपालिकाभित्र पाँचवटा माध्यमिक विद्यालय रहेको र त्यहाँ अध्ययनरत् विद्यार्थीलाई आवातजावतमा सहजताका लागि गाउँपालिकाले साइकल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष साहले बताए ।

साइकल नभएकै कारण विद्यालय जानबाट बञ्चित विद्यार्थीको कुरा सुनेपछि २०७५ सालबाटै गाउँपालिकाले साइकल वितरण सुरु गरेको थियो ।

सुरुका वर्ष कक्षा-९ मा अध्ययनरत छात्रालाई मात्र साइकल वितरण गरिए पनि यो वर्षबाट छात्रलाई पनि साइकल वितरण सुरु गरिएको हो ।

गाउँपालिकाले जनता मावि, डिल्लीराज मावि, जनकल्याण मावि, कुवाडीदेवी मावि र महेन्द्र माविका विद्यार्थीलाई एकैसाथ डिल्लीराज माविमा आयोजित कार्यक्रमबीच साइकल वितरण गरेको थियो ।

१९५ छात्रा र २६५ जना छात्रलाई साइकल वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् । गाउँपालिकाले साइकल वितरणका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

Adv footer