२०८२ असोज २ बिहीबार
Jhapa Today
Adv top

महेश्वरी महिला मञ्चद्वारा विद्यार्थीलाई न्यानो कपडा


बिर्तामोड, माघ ५ । महेश्वरी महिला मञ्च मेचीले जाडोका लागि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृह र जूनकीरी सार्वजनिक प्राथमिक विद्यालय अर्जुनधारा ११ का ९५ जना विद्यार्थीहरुलाई मञ्चले अति आवश्यक ४६ जनालाई स्विटर र ९५ जनालाई जुत्तामोजा वितरण गरेको हो ।

चिसो बढेसँगै बालबालिकाहरुलाई स्कुल आउन गाह्रो भएको प्रधानाध्यापक रञ्जीत परियारले आह्वान गरेपछि महिला मञ्चले आफ्नो समूहबाट संकलित रकमबाट स्विटर, जुत्ता मोजा र खाद्यान्न वितरण गरेको हो ।

त्यसैगरी, यही वर्ष सरस्वती मन्दिर समेत निर्माण गरिदिने र अति आवश्यक अन्य केही समस्या भए पूरा गरिदिने महिला मञ्चकी अध्यक्ष रिता चित्लाङ्गियाले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले महेश्वरी महिला मञ्च संस्थाले बालमैत्री विद्यालय बनाउन साझेदारी कार्यक्रम ल्याएको भन्दै धन्यवादसहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा अतिथि विद्यालय व्यवस्थापन समिति संस्थापक अध्यक्ष जगतबहादुर मगर, महारानीगन्ज मावि अध्यक्ष बोलप्रसाद कोइराला, जनप्रतिनिधि सुशीला गिरी, समाज कल्याण परिषद बोर्ड सदस्य गोमा भुसाल, महेश्वरी समाज मञ्च मेचीका अध्यक्ष महेश चित्लाङ्गिया लगायतले बालबालिकाहरुप्रतिको सहयोग र सराहनीय सेवाप्रति मारवाडी महिलाहरुको समूहलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश मञ्चकी सांस्कृतिक सचिव रुचि झन्वर र सहजीकरण सचिव सुधा अटल तोसनिवालले गरेका थिए ।

Adv footer