बिर्तामोड, माघ १५ । बिर्तामोड नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका वडा नम्बर १ देखि ५ सम्मका वडाको जग्गाको कित्ताकाट माघ अन्तिमसम्ममा खुलाउने गरी तयारी गरेको छ ।
नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको टुंगो लगाइसकेको जनाएको छ । नगर प्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईंले पाँचवटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको जानकारी दिइन् ।
नगरपालिकाले भू–उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग क्षेत्र नक्शा तथा विवरण प्राप्त भएकाले उक्त क्षेत्रमा पर्ने जग्गाहरुको भू–बनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताका आधारमा जग्गालाई भूपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ बमोजिमका क्षेत्रमा वर्गीरकण गर्ने निर्णय गरेको हो ।
सरकारले केही महिनाअघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरिएको छ ।
जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् ।
यसैका आधारमा रहेर नगरका ५ वटा वडामा जग्गा वर्गीकरण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए ।
निर्णय गरिएका ५ वटा वडा बजारक्षेत्रमा रहेका कारण आवास, व्यावसायिक, औद्योगिक र केही मात्रामा कृषि क्षेत्रमा पनि परेका छन् । नगरपालिकाले कृषि क्षेत्रमा वर्गीकरण हुने जग्गामा मालपोत÷ भूमिकर लागु गर्नेछ भने अन्य व्यावसायिक, आवासीय र औद्योगिक क्षेत्रमा भएको जग्गामा सम्पत्ति कर लागु गर्नेछ ।
नगर प्रमुख प्रसाईले जग्गा वर्गीकरणका क्रममा आवासीय र व्यावसायिक क्षेत्रमा परेका जग्गालाई कृषिमा राख्न इच्छुक भए परिवर्तन गर्न सकिने बताइन् । उनले यसका लागि नगरपालिकाले आजदेखि ७ दिनको समय दिएकोले लिखित निवेदन पेश गर्न आग्रह गरिन् ।
नगर प्रमुख प्रसाईले बाँकी रहेका वडा नम्बर ६ देखि १० सम्मका वडाको पनि जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भइरहेकाले जतिसक्दो चाँडै टुंग्याइने जानकारी दिइन् ।