बिर्तामोड, माघ १५ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको तेस्रो दिनको खेलमा चन्द्रगढी र दमक लखनपुर विजयी भएका छन् ।
आइतबारको खेलमा चन्द्रगढी भेट्रान्स फुटबल क्लबले कनकाई भेट्रान्स फुटबल क्लबलाई १–० को गोल अन्तरले हरायो भने दमक लखनपुर भेट्रान्स फुटबल क्लबले हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबविरुद्ध ४–० को जित निकालेको हो ।
चन्द्रगढीका लागि ४६ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै मित्र बस्नेतले गोल गरे । दमक लखनपुरको तर्फबाट २१ र ५३ औँ मिनेटमा डेनिम राई, ४८ औँ मिनेटमा सुवास आङथुपो र ६२ औँ मिनेटमा भाइचुङ लिम्बूले गोल गरे ।
दुवै खेलका म्यान अफ द म्याच हुने खेलाडीले नगद एक हजार पाँच सय पाए ।
आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको छ । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।
प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।
प्रतियोगिताभरिको उत्कृष्ट किप्पर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद दुई हजार १०० पाउने उपाध्यक्ष गणेश सुब्बाले बताए ।