-विनिशा शर्मा
मेचीनगर, चैत ११ । धुलाबारी खानेपानी उपभोक्ता समितिको आसन्न निर्वाचनमा ११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
२०५२ सालमा एसियाली विकास बैंक र जाइका नेपालको ४५ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको धुलाबारी खानेपानीको यही चैत १८ गते निर्वाचन हुँदैछ ।
खानेपानीको चुनावमा ४ हजार ९१७ जनाले मतदान गर्न पाउने छन् । ५ हजार ७ सय उपभोक्ता रहे पनि पुस मसान्तसम्मको महसुल बुझाएका उपभोक्ताले मात्रै मताधिकार प्राप्त गर्ने भएकाले बाँकी ७८३ उपभोक्ता मताधिकारबाट बञ्चित हुने छन् ।
आसन्न चुनावमा तीन समूहले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । धनकाजी खत्री दाहाल, रचिन्द्र श्रेष्ठ र सन्तोष राजवंशी आआफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
खत्रीको टिमलाईलाई कांग्रेस र राप्रपा, श्रेष्ठको टिमलाई एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी र राजवंशीलाई रास्वपाले समर्थन गरेका छन् ।
खत्रीको समूहबाट उपाध्यक्ष पदमा हिमालय आङ्देम्बे, सचिवमा उमेश सुवेदी, सदस्यहरुमा सरोज खड्का, कविन्द्र श्रेष्ठ, लीलादेवी गौतम, धनमाया गौतम पोखरेल, भूमि कडरिया, नारायण भट्टराई, केदार खत्री र रित खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, श्रेष्ठको समूहबाट उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा उमेश डाँगी, सदस्यहरुमा सञ्जय श्रेष्ठ, दिपु कटुवाल, हेमा कट्टेल, बिना अधिकारी, रिता दाहाल, हिरा आचार्य, अमर लिम्बू र राजनकुमार सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
राजवंशीको समूहबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा ओमनाथ घिमिरे, सदस्यहरुमा दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाईं, सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार शाह, मीना बस्नेत थापा, सगलु कँवर र लोकनाथ काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।
धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता बजार क्षेत्र रहेको मेचीनगर–१० मा छन् भने थोरै उपभोक्ता मेचीनगर–१४ मा रहेका छन् ।