मेचीनगर, चैत ११ । धुलाबारी खानेपानी उपभोक्ता समितिको आसन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले खानेपानी संस्थाको विकृति, विसंगति र दुरुपयोग रोक्न कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
आज धुलाबारीमा पत्रकार भेटघाट गरी उनीहरुले समाजमा रहेका ‘भुइँमान्छे’हरुलाई नेतृत्वमा पुर्याउने उद्देश्यका साथ उम्मेदवारी दिइएको जानकारी दिए ।
मेचीनगर अध्यक्ष भीमबहादुर कुँवरले खानेपानीको यही चैत १८ गते हुने निर्वाचनका लागि सन्तोष राजवंशीको नेतृत्वमा समूह निर्माण गरिएको बताए ।
पत्रकार भेटघाटमा राजवंशीले १० बुँदे धारणा सार्वजनिक गरेका थिए । ६ महिनादेखि ३ वर्षभित्र संस्थाको प्रगति, अनियमितता रोक्ने, पानीको स्रोत विस्तार, पाइप लाइन विस्तार, चौबीसै घण्टा पानीको सुविधा लगायतका १० बुँदे योजनाहरु अघि सारिएको छ ।
राजवंशीले आफूहरुसँग ज्ञान, क्षमता, जोश जाँगर अनि उत्साह भएकाले उपभोक्ताले विश्वास गरेर मतदान गर्ने दाबी गरे । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सचिव जीवन कट्टेलले गरेका थिए ।
राजवंशीको टिममा उपाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा ओमनाथ घिमिरे तथा सदस्यमा दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाईं आचार्य, सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार शाह, मीना बस्नेत थापा, सगलु कँवर र लोकनाथ काफ्लले उम्मेदवार रहेका छन् ।
३ वर्षे कार्यकालका लागि खानेपानीमा १५ सदस्यीय कार्यसमिति रहने प्रावधान छ । ११ जना चुनावी प्रक्रियाबाट निर्वाचित हुनेछन् भने एकजना निवर्तमान अध्यक्ष र तीनजना सदस्य मनोनित हुनेछन् ।
खानेपानीको चुनावमा ४ हजार ९१७ जनाले मतदान गर्न पाउने छन् । ५ हजार ७ सय उपभोक्ता रहे पनि पुस मसान्तसम्मको महसुल बुझाएका उपभोक्ताले मात्रै मताधिकार प्राप्त गर्ने भएकाले बाँकी ७८३ उपभोक्ता मताधिकारबाट बञ्चित हुने छन् ।
धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता बजार क्षेत्र रहेको मेचीनगर–१० मा छन् भने थोरै उपभोक्ता मेचीनगर–१४ मा रहेका छन् ।