२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

हिलाम्ये मैदानमा जनसहयोग युथ क्लब गोलवर्षासँगै सेमिफाइनलमा


बिर्तामोड, जेठ २ । जनसहयोग युथ क्लब मोरङ झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उसले सप्तरीको नव बुद्ध युथ क्लबमाथि गोलवर्षा गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा मोरङले ५–० गोलअन्तरमा जित निकालेको हो ।

मोरङका लागि विदेशी खेलाडी ओस्कारले व्यक्तिगत २ गोल गरे भने अर्का विदेशी खेलाडी ग्लोरी, सतिन मगर र विशाल मगरले समान १–१ गोल गरे ।

खेलको सुरुवातीदेखि नै दबाबमा रहेको सप्तरीले केही राम्रा मुभ बनाउन सफल भए पनि गोलको खाता भने खोल्न सकेन ।

खेलको ४ मिनेटमै ग्लोरीले मोरङका लागि पहिलो गोल गरेका थिए । अर्का विदेशी खेलाडी ओस्कारले खेलको ३७औँ र ५१औँ मिनेटमा गोल गरेर फराकिलो अन्तर निकाले ।

यसअघि सतिन मगरले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । एकतर्फी गोलको वर्षा भइरहेको खेलमा फेरि मोरङकै विशाल मगरले खेलको ७२औँ मिनेटमा गोल गरेर ५–० गोलको नतिजा निकाले ।

खेलको म्यान अफ दि म्याच मोरङका लागि ओस्कार घोषित भए । उनलाई बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईं र वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेलले नगद ३ हजार र ट्रफी प्रदान गरे ।

यो खेलको समाप्तिसँगै आयोजक न्यु स्टार क्लबले इलामको रेडहर्स एफसीसँग भोलि पहिलो सेमिफाइनल खेल खेल्नेछ भने आजको विजेताले मोरङले सुनसरीको बराहक्षेत्र ११ सँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५–५ हजार पाउने छन् ।
प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दि म्याचले नगद ५ हजार ट्रफी पाउनेछ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउनेछ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer