ओखलढुंगा, असार ६ । उदयपुरलाई हराउँदै संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा उदयपुरलाई टाइब्रेकरमा हराउँदै संखुवासभा अन्तिम चारमा प्रवेश गरेको हो ।
निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सुरुवाती अग्रता उदयपुरले लिए पनि संखुवासभा खेलमा फर्किएपछि उदयपुर स्तब्ध बन्न पुग्यो ।
१–२ को गोल अन्तरले पछि परेको संखुवासभालाई पेनाल्टीमा गोल गर्दै सन्दीप भगत श्रेष्ठले २–२ को बराबरीमा ल्याएका थिए ।
आज दिउँसो भएको संघर्षपूर्ण खेलमा उदयपुरका खेलाडी तिप्सन मगरले पेनाल्टी क्षेत्रभित्र संखुवासभाका खेलाडी जीवन मगरलाई लडाएपछि संखुवासभाले पेनाल्टी पाएको थियो ।
यसअघि खेलको १४ औँ मिनेटमा उदयपुरका दिवस श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २६ औँ मिनेट कप्तान सुनिल खड्काले गोल गर्दै संखुवासभाविरुद्ध दुई गोलको अग्रता बनाएका थिए ।
तर, ३१ औँ मिनेटमा जीवन मगर र ६७ औँ मिनेटमा श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । संखुवासभाले टाइब्रेकर ५–४ गोल अन्तरले उदयपुरलाई हराएको हो ।
खेलको म्यान अफ द म्याच संखुवासभाका गोलकिप्पर प्रदिप जिमी भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र संखुवासभा जिल्ला फुटबल संघका अध्यक्ष भरतकुमार घिमिरेले नगद चार हजार र मेडल प्रदान गरे ।
यसैबीच, आज बिहान भएको अर्को खेलमा खोटाङले जित निकाल्यो । छिमेकी पहाडी जिल्ला तेह्रथुमलाई टाइब्रेकरमा हराउँदै खोटाङले सुनसरीसँगको भेट पक्का गरेका हो ।
निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–२ को अन्तरमा हराउँदै खोटङ विजयी भएको हो ।
यसअघि खेलको ३९ औँ मिनेटमा खोटाङका सुजन माझीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ५० औँ मिनेटमा तेह्रथुमका मिलन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको मयान अफ द म्याच खोटाङका गोलकिप्पर किरण राई भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र स्थानीय व्यवसायी सर्वोत्तम श्रेष्ठले नगद चार हजार र मेडल प्रदान गरे ।
प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।