बिर्तामोड,भदौ १४ । झापाको बिर्तामोड र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरी र युवाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
बिर्तामोडमा बुधबार राति पौने १ बजे दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा कनकाई नगरपालिका– ५का २६ वर्षीय सागर घिमिरेको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड ३ स्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका घिमिरेलाई उपचारार्थ बिएण्डसी अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी हुन् ।
५१४० नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका– १० का २९ वर्षीय सरोज बस्नेत र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय सकिन न्यौपानेसमेत गम्भीर घाइते भएका छन् । उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै, कनकाई पुलमा दुई वटा मोटरसाइकल एकापसमा जुध्दा बाह्रदशी गाउँपालिका– ५ की १८ वर्षीया जेसिका सिग्देलको मृत्यु भएको हो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई पुलमा बुधबार साँझ ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. ३प ५४६३ ले साइकलयात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को.३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा मे.३प५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका– ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको दाहिने कानबाट रगत बग्दा गम्भीर घाइते भएकी थिइन् । घाइते दुवै जनालाई बिर्तासिटी अस्पताल लगिएको र जेसिकाको सोही अस्पतालमा उपचारको क्रममा राति सवा ८ बजे मृत्यु भएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
मृतक जेसिकाले भर्खरै महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी थिइन् । जापान जाने तयारीमा रहेकी उनी आफ्ना डकुमेन्ट पुर्याएर विराटनगरबाट फर्किँदा दुर्घटनामा परेको बताइएको छ ।
त्यस्तै, को.३१प९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–१ निवासी ४० वर्षीय सुरेश राई र सोही मोटरसाइकल पछाडि सवार इलाम जिल्ला चुलाचुली नगरपालिका–४ निवासी २९ वर्षीय निश्चल चेम्जोङ घाइते भएका छन् ।
घाइते दुवै जनाको टाउकोसहित हातखुट्टामा चोट लागेको र उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । साइकलयात्री अर्जुनधारा नगरपालिका– ५ का ६३ वर्षीय गंगा तामाङको दायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरी घर फर्किसकेको प्रहरीले जनाएको छ ।