२०८१ कार्तिक २१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

भोलि सोमबारदेखि मनसुन बाहिरिन सुरु गर्ने


बिर्तामोड, असोज ७ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो ।

तर, यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मितिअनुसार नेपालबाट मनसुन बाहिरिन अब एक हप्ता बाँकी छ । कहिलेकाहीँ सरदर मितिभन्दा दुई–चार दिन ढिलो–चाँडो पनि मनसुन बाहिरिने गर्दछ ।

पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ । भारतको राजस्थानबाट भने मनसुनी वायु बाहिरिन सुरु गरिसकेको छ । भारतको मौसम विज्ञान विभागले भोलि सोमबारदेखि मनसुन बाहिरिन सुरु गर्ने जनाएको छ ।

मौसमविद राजु प्रधानाङ्गले भारतबाट मनसुन बाहिरिन सुरु गरिसकेकाले पश्चिम नेपालबाट पनि एक हप्तापछि मनसुन बाहिरिन सुरु हुनसक्ने अनुमान गरिएको जानकारी दिए ।

मौसमविदहरुका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ अर्थात् पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ ।

सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ । बिहानपख जाडो महसुस हुँदै गएको छ । यद्यपि जाडोको वायुका साथै मनसुनका अरु धेरै प्रणालीहरु छन्, ती सबै बाहिरिँदै जानुपर्छ ।

स्थानीय वायुको प्रभाव, पश्चिमी वायुको प्रभाव, वायुमण्डलको अवस्था सबै हेरेर मनसुन बहिर्गमनको घोषणा गरिन्छ । तर, अहिले मनसुन कमजोर भए पनि बाहिरिने अन्य पूर्वसंकेतहरु देखिएका छैनन् । त्यसैले मौसमविदले मनसुन बहिर्गमनको मितिबारे ठोकुवाका साथ भन्न नसकेका हुन् ।

मौसमविद प्रधानाङ्गका अनुसार अहिले मनसुन कमजोर हुँदै गए पनि केही एक–दुई स्थानमा अझै भारी वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।

अहिले भने कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कोशी प्रदेशका तराई भूभाग झापा र मोरङतिर हल्का वर्षा पनि भइरहेको छ । मनसुन कमजोर हुँदै गएको र मनसुन बाहिरिने मिति पनि नजिकिँदै गएकाले विगतमा जस्तो अति भारी वर्षाको सम्भावना भने अब नरहेको मौसमविद बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer