
बिर्तामोड, कात्तिक १३ । झापाको सामाजिक तथा आर्थिक विकासका लागि योगदान गर्दै आएको झापाली समाज अस्ट्रेलियाले एम्बुलेन्स उपलब्ध गराएको छ ।
बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच हिजो समाजले झापाको गौरीगञ्ज गाउँपालिकाको महाभारा स्वास्थ्य चौकीलाई उपलब्ध गराइने एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, दिपक चुडाललगायतले अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको अवसरमा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र वडा नम्बर १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई एम्बुलेन्स सुविधाको अभावमा समयमै अस्पताल पुग्न समस्य भइरहेको बेला झापाली समाज अष्ट्रेलियाले एम्बुलेन्स उपलब्ध गराएको समाजका निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाज ओसियाना क्षेत्रका संयोजक उमेश पोखरेलले जानकारी दिए ।
अस्ट्रेलियामा रहेका झापाबासीहरुको साझा संस्था झापाली समाज अस्ट्रेलियाले आफ्नो सामाजिक सेवाको कार्यक्रमलाई निरन्तरता दिँदै एम्बुलेन्स प्रदान गरेको हो ।

समाजले यसअघि कोरोना भाइरसका कारण समस्यामा परेका झापालीको पीडामा समाजले आर्थिक सहयोग तथा स्वास्थ्य सामग्रीदेखि खाद्यान्न वितरण गरेको थियो । समाजका तत्कालीन अध्यक्ष उमेश पोखरेलको विशेष पहल र नेतृत्वमा अस्ट्रेलियाबाट झापामा सहयोग प्राप्त भएको थियो ।

समाजले भद्रपुरस्थित मेची अस्पताललाई २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री समाजकी तत्कालीन महिला संयोजक सोनु पुडासैनीको नेतृत्वमा हस्तान्तरण गरेको थियो ।
त्यस्तै, समाजले झापाको मेचीनगर नगरपालिकामा रहेका विपन्नवर्ग तथा रोजगार गुमाएका दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न प्रदान गर्न २ लाख रुपैयाँ सहयोग गरेको थियो ।
त्यस्तै, समाजले अन्तर्राष्ट्रिय झापाली समाजलाई जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरणका लागि ३ लाख र एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि ३ लाख रुपैयाँ प्रदान गरेको थियो ।
रोटरी क्लब अफ भद्रपुरको सहकार्यमा समाजले ७ लाख रुपैयाँ सहयोग गरेर निर्माण भएको सार्वजनिक शौचालय सञ्चालनमा आइसकेको छ । झापाली समाज अस्ट्रेलियाका निवर्तमान अध्यक्ष उमेश पोखरेलको कार्यकालमा सबै रकम प्रदान गर्ने निर्णय भएको थियो ।