
बिर्तामोड, पुस ३ । अश्लील क्रियाकलापमा संलग्न रहेको पाइएका दुईजना अधिकृतलाई मन्त्रालयले आकर्षक ‘मालअड्डा’ मा पठाएको छ ।

एक महिलासँग अश्लील गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौला र कार्यालयकी कर्मचारीसँग अश्लील हर्कत गर्ने काजीमान राईलाई सरकारले महत्वपूर्ण जिम्मेवारी तोकेर कार्यक्षेत्रमा पठाएको हो ।

उपसचिव निरौला झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गत साउन १३ गते सरकारी क्वार्टरमा एक युवतीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिरी हुन उनलाई चिठी काटेको थियो ।

उपसचिव निरौलालाई भूमि व्यवस्था मन्त्रालयले महत्वपूर्ण जिम्मेवारी दिएर पर्सा पठाएको छ । उनलाई सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो । त्यहाँ रेशम चौधरीसँग सेटिङ गरी उनी पर्सा लागेको स्रोतको दाबी छ ।

मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । पर्सा मालपोत कार्यालय आकर्षक मानिन्छ । त्यहाँ जानलाई कर्मचारीहरूबीच ‘लिलाम बढाबढ’ हुने गरेको छ ।
ववादित उपसचिवलाई पर्सा मालपोतमा पठाउन भूमि व्यवस्था सचिव गोकर्णमणि दवाडी तयार नभए पनि निरौलाले माथिकै ‘भिटो’ लगाएको स्रोतको दाबी छ ।
त्यस्तै, प्रशाकीय अधिकृत राईलाई सोलुुखुुम्बुको लिखुपिके गाउँपालिकाको प्रमुुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।
इलामको माईजोगमाई गाउँपालिकामा सोही पालिकाकी एक कर्मचारीसँग अस्वभाविक यौनजन्य व्यवहार गरेको अभियोगमा झापाको बाह्रदशी गाउँपालिका हुँदै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तानिएका राईलाई सोलुुखुम्बुको लिखुपिके गाउँपालिकामा पठाइएको हो ।