मेचीनगर, पुस ३ । बेबारिसे अवस्थामा तीन दिनदेखि मेचीनगरको धाइजन आसपास सडकमै डुलिरहेकी एकजना महिलाको मृत्यु भएको छ ।
मेचीनगर–१० धाइजन ढाटमा बस्दै आएकी बेबारिसे महिलाको आज मृत्यु भएको छ । चिसोले गर्दा बेहोश भएकी उनको सोही कारणले मृत्यु भएको प्रहरीले जनाएको छ ।
मागेर खाइरहेकी अन्दाजी ३० वर्षीया ती महिला तीन दिनदेखि धाइजन ढाटमा चिसोमा डुलिरहेकी थिइन् ।
सोमबार अपराह्न पूर्वपश्चिम राजमार्गछेउमा उनी कठांग्रिएर बेहोश भएकी थिइन् । मेचीनगर १० का वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग लिएर महिलाको उद्धार गरेर प्रादेशिक अस्पताल भद्रपुर लगेका थिए ।
ती महिलाको उपचारको क्रममा इमर्जेन्सी कक्षमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
मृतक महिलाको आफन्त सम्पर्कमा आएका छैेनन् । उनको नाम र ठेगाना पनि खुलेको छैन । धाइजन ढाटका स्थानीयले बोलीचालीका आधारमा उनी नेपाली नै भएको बताएका छन् ।