
बिर्तामोड, पुस ९ । बिर्तामोडमा २६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म चार दिन सञ्चालन गरेको शिविरमा नगरक्षेत्रबाट संकलन गरेर ल्याइएका कुकुरहरुको बन्ध्याकरण गरेको हो ।
बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यसअघि २ हजार १०० भन्दा बढी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिसकेको छ ।
सामुदायिक कुकुरको संख्या बढेसँगै कुकुरबाट सर्ने रेबिज लगायतका रोगहरुको जोखिम पनि बढ्दै गएपछि यसको प्रजननदर रोक्नका लागि कुकुर बन्ध्याकरण शिविरको आयोजना गरीएको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।
कुकुरलाई बन्ध्याकरणसँगै रेबिजविरुद्धको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि उपचारसमेत गरिएको छ ।
शिविर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने संस्था हाम्रो भेटेरिनरी सेवा सहकारी र डक्टर सिजन सैँजुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । शिविरमा खटिएको प्राविधिक टिमलाईसमेत खादा लगाएर सम्मान गरिएको छ ।
नगरपालिकाले पशुपंछी तथा मत्स्य विकास शाखामार्फत हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरणको लागि बजेट छुट्याउँदै आएको छ । शिविर समापन कार्यक्रममा कार्यपालिका सदस्य स)गीता सिवा, निर्मलादेवी सुनार, नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।