२०८२ बैशाख १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमकका १०७ वर्षीय घिमिरेलाई नगरपिता घोषणा


दमक, पुस ११ । दमक नगरपालिकाले दमक-१ का १०७ वर्षीय धनञ्जय घिमिरेलाई नगरपिता घोषणा गर्दै सय वर्षमाथिका छजनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक-८ का १०६ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक-३ की १०६ वर्षीया नरमाया सोराली, दमक-१० की १०५ वर्षीया नर्वदा खनाल, दमक-७ की १०५ वर्षीया मिनादेवी कार्की र दमक-१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।

नगरपालिकामा उपलब्ध तथ्याकंका आधारमा दमककै ज्येष्ठ १०७ वर्षीय घिमिरेलाई नगरपिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामुहिक रुपमा सम्मान गरिएको नगरप्रमुख रामकुमार थापाले बताए ।

उनीहरुलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगरप्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं लगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नगरप्रमुख थापाका अनुसार नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ र फरक क्षमता भएकाहरुलाई घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले तीनतीन महिनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधिहरु समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, कर्मचारी लगायत सामाजिक, राजनीतिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

Adv footer