
बिर्तामोड, पुस २० । बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आज १६० जनालाई कम्बल वितरण गरिएको हो ।
नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो कम्बल वितरण गरिएको नगरको महिला तथा बालबालिका शाखाले जनाएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जाडोले ज्येष्ठ नागरिक बढी पीडित हुने भएका कारण कम्बल वितरण गरिएको बताइन् ।
२०७४ को निर्वाचनपछि नगरका सबै टोलमा पुगेर अनुगमन गर्दा सिरक नभएर अगेनोको छेउमा सुतेर रात बिताएको देखेपछि नगरपालिकाले कम्बल वितरण कार्यक्रमको सुरुवात गरेको उनले जानकारी दिइन् ।
नगरपालिकाले गएका वर्षहरुमा प्रत्येक वडाबाट १०/१० जनाको दरले १०० जनालाई कम्बल वितरण गर्दै आएको थियो । यस वर्ष यसको संख्या बढेको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल लिन आउँदाजाँदा लाग्ने गाडी भाडाको समेत व्यवस्था गरेको थियो । वडाको सिफारिसका आधारमा कम्बल वितरण गरिएको सामाजिक विकास अधिकृत डिल्ली दाहालले जानकारी दिए ।