बिर्तामोड, माघ ५ । अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा जारी माविस्तरीय प्रथम स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा जनता मावि खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा अर्जुनधारा-३ कै न्यु होप इङलिस बोर्डिङ स्कुललाई टाइब्रेकरमा पराजित गर्दै जनता माविले सेमिफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको ३७औँ मिनेटमा जनता माविका सन्तोष मगरले गोल गर्दै अग्रता दिलाएका थिए । तर, न्यु होपका असिम लिम्बूले ४६औँ मिनेटमा बराबरी गोल फर्काए ।
टाइब्रेकरमा जनता मावि ३–० गोलले विजयी बन्यो । जनता माविका लागि श्याम खड्का, कोशिक गिरी र सुनिल तामाङको प्रहार गोलमा परिणत हुँदा सन्तोष मगरको प्रहार बाहिरिएको थियो ।
त्यस्तै, न्यु होपका सुबोध पाँचकोटी र असिम लिम्बूको प्रहार बाहिरिँदा अनुप मगरको प्रहार जनता माविका गोलरक्षक सौरभ विकले बचाएका थिए ।
जनता माविका सौरभ विक खेलको प्लेयर अफ दि म्याच बने । उनले नगद पुरस्कार पाएका छन् । जनता माविको जितसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
जनता माविले माघ ८ गते शनिश्चरे माविसँग र भानु माविले लक्ष्मी माविसँग माघ ७ गते फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
माघ १५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार र ट्रफी पाउने छ ।
प्रतियोगितामा सालबारी निवासी अरुणकुमार डाँगीले दिवंगत बुबाको स्मृतिमा आर्थिक सहयोग गरेका छन् ।