बिर्तामोड, माघ ६। झापाको शिवसताक्षीमा रुखबाट दाउरा झार्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

आज (शनिबार) बिहान साढे ८ बजेको समयमा राई घर नजिकैको सामुदायिक वनमा रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिले थप अनुसन्धान गरिरहेको छ ।
