बिर्तामोड, माघ ७ । भानु मावि झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा जारी स्व कृष्णप्रसाद डाँगी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी मावि अर्जुनधारा ६ लाई १-० गोलअन्तरमा भानु मावि अर्जुनधारा ५ ले पराजित गरेको हो । भानु माविका लागि कार्लोस गिरीले निर्णायक गोल गरेका थिए ।
म्यान अफ दी म्याच बनेका कार्लोस गिरीलाई पूर्व प्रदेश सांसद बिर्ख प्रधान र महारानीगञ्ज माविका प्रधानाध्यापक मनबहादुर लिम्बूले नगदसहित ट्रफी प्रदान गरे ।
सोमबार अर्जुनधारा ८ को शनिश्चरे माविले अर्जुनधारा ३ को जनता माविसँग अन्तिम सेमिफाइनल खेल्ने छ । माघ १५ गते हुने फाइनल प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले १० हजार पाउने छ ।
महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता सम्पन्न गर्न दिवंगत डाँगीका छोरा सालबारी निवासी अरुणकुमार डाँगीले आर्थिक सहयोग गरेका छन् ।