
बिर्तामोड, माघ १४ । गायिका मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) जडित स्मार्ट भिजन चश्मा प्रदान गरेका छन् ।
इन्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डक्टर नितिन र रोहनले एआइ जडित उक्त विशेष चश्मा मेनुकालाई प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चश्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो ।

लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चश्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चश्मा प्रदान गरेका थिए ।


उक्त चश्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने सो अवसरमा बताएका थिए ।

डक्टरले सबै जज र अतिथिलाई मञ्चमा बोलाएर उक्त चश्माको डेमो प्रस्तुत गरेका थिए । सो चश्मा लगाएकी मेनुका अघि उभिएका जज कुमार सानुलाई एआइ जडित चश्माले अंग्रेजी भाषामा ‘कुमार सानु अघि उभिएका छन्’ भनेर आवाज दिएको थियो ।

त्यसपछि मेनुका अघि उभिएका आइडलका अतिथिलाई पनि उक्त चश्माले ठुलो भीडसामु उभिएको भन्दै पहिचान गरेको थियो । सो क्रममा डक्टर रोहनले उक्त चश्माको विशेषताबारे बताएका थिए ।
उक्त चश्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत बताउँछ । चश्माको सेन्सरमा एआइ जडान गरिएको छ । चश्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् ।
चश्मा लगाइसकेपछि मेनुकाले चिकित्सक र इन्डियन आइडललाई धन्यवाद दिइन् । उनले भनिन्, हजुर दुईजनाले मेरा जीवनमा सबैभन्दा ठुलो उपहार दिनुभएको छ । यस्तो काम इन्डियन आइडलको मञ्चमा मात्र हुनसक्छ । अन्य धेरै व्यक्ति पनि हुनुहुन्छ, जसलाई म मद्दत गर्न सकुँ ।’
झापा हल्दिबारीकी मेनुकाले इन्डियन आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र प्रतिस्पर्धा गरिरहेकी छिन् । उनले आफूलाई भोट गर्न समेत अपिल गरेकी छन् ।
-अनलाइनखबरबाट