

दमक, माघ १७ । दमक उद्योग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रादेशिकस्तरीय पाँचौँ दमक महोत्सवको आयोजना गर्ने भएको छ ।
संघले दमकमा आज गरेको पत्रकार भेटघाटमा महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको संघका अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए ।
उनका अनुसार महोत्सव दमक ७ स्थित सयपत्रीटोलको रतुवा किनारमा हुनेछ । महोत्सवमा पाँच करोड रुपैयाँबराबरको कारोवार हुनुका साथै एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको उनले बताए ।
संघले विगतमा २०६२, २०६५, २०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्लो समय अर्थतन्त्रमा केही सुधारसँगै परिस्थति समेत अनुकूल बन्दै गएपछि ६ वर्षपछि महोत्सवलाई निरन्तरता दिन लागिएको अध्यक्ष गुरागाईंले बताए ।
महोत्सवमा औद्योगिक व्यापार, पर्यटन, प्रवर्धन एवम् कृषि उपजको प्रदर्शनी हुनेछ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक समिति गठन गर्नुका साथै विभिन्न तयारी उपसमितिहरु समेत गठन गरेको छ ।
महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार रुपैयाँ र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमान गरिएको संघले जनाएको छ ।
खर्चमध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईंको भनाइ छ । महोत्सवको बचत रकम निर्माणाधीन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने उल्लेख छ ।
पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले महोत्सवको सन्दर्भमा आफनो भनाइ राखेका थिए ।