

बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
जसअनुसार खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ ।
निगमका अनुसार बुधवार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु ४.५३ र रु. २.३२ ले बढेर आएको छ । एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँ ७८ पैसा बढेर आएको निगमले जनाएको छ ।
सोहीअनुसार निगम सञ्चालक समितिको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल र डिजेल तथा मट्टितेलमा क्रमशः ४ र २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
जसअनुसार अब झापातलयातका पूर्वी तराई र पहाडी क्षेत्रमा पेट्रोलको मूल्य १६७ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ । डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ ५० पैसा कायम हुँदा ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ कायम भएको छ ।