बिर्तामोड, फागुन २३। भद्रपुर नगरपालिकाले ६ जना पत्रकार र ४ जना खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ ।
भद्रपुरले नगर सभाको १३ औं अधिवेशनको अवसरमा बुधबार भद्रपुरका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी र अग्रज पत्रकार गोविन्दचन्द्र छेत्रीलाई ‘जीवनपर्यन्त योगदान पुरस्कार’, प्रदान गरेको हो । नगर क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका काजी र छेत्रीलाई ३० हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गरेको छ ।
त्यस्तै, दीपक अधिकारी र लेखनाथ परदेशीलाई ‘नगर विकास पत्रकारिता पुरस्कार’ सम्मान पत्रसहित नगद १५ हजारले पुरस्कृत गरिएको हो । पत्रकार रेवतीराज घिमिरे र वरुण साप्ताहिककी सम्पादक इशा प्रधानलाई ‘प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । घिमिरे र प्रधानलाई १० हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
त्यसैगरी खेलकुद क्षेत्रमा योगदान पुर्याउने कोसी प्रदेश क्रिकेट टिमका कप्तान अङ्कित सुवेदी, प्रसिद्ध भक्तराज लवट, मेनुका पौडेल र सोनीदेवी दासलाई पनि पुरस्कृत गरिएको छ । उनीहरूलाई सम्मान पत्रसहित जनही नगद २१ हजारको दरले पुरस्कृत गरिएको हो ।
नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।