बिर्तामोड, फागुन २९ । झापाको भद्रपुरलाई उज्यालो नगर बनाउने उद्देश्यले सडकमा सेन्सर एलइडी लाइट जडान कार्यअन्तर्गत २२६ वटा एलइडी लाइट जडान गरिएको छ ।
भद्रपुरका १० वटै वडामा एलइडी लाइट जडान अभियानअन्तर्गत पहिलो चरणमा वडा नम्बर १ देखि जडान कार्यको सुरुवात गरिएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।
हिमालीचोक पश्चिमबाट सुरु गरिएको अभियान भद्रपुर बिर्तामोडरोडको देउनिया पुल र चन्द्रगढी चारआली रोडको पुहाँतुबारीचोकसम्म एलइडी लाइट जडान गरिनेछ ।
हाल जडान गरिएको लाइट उज्यालोमा निभ्ने र अँध्यारोमा आफैँ बल्ने गरी सेन्सर जडित छ ।
नगरपालिकाले पहिलो चरणमा ५ सयवटा एलइडी लाइट जडान गर्नेछ भने हालसम्म हिमालीचोकदेखि झापाचोकसम्म २२६ वटा लाइट जडान कार्य सकिएको र बाँकी स्थामा यो हप्ताभित्र सम्पन्न गरिने पोखरेलले बताए ।