२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झापामा ६७ औँ सहकारी दिवसको तयारी पूरा


बिर्तामोड, चैत १८ । झापा जिल्ला सहकारी संघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ । आज संघको कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरेर संघले यो वर्षको कार्यक्रम भव्य हुने जानकारी दियो ।

“सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने मुल नाराका साथ मनाइने राष्ट्रिय सहकारी दिवस पाँच वर्षयता खुला रुपमा हुन लागेको अध्यक्ष गणेश ढकालले बताए । कोभिड तथा अन्य कारण संघले आन्तरिक रुपमा मात्र दिवस मनाउँदै आएको थियो ।

यस वर्ष सहकारीमाथि भइरहेको आक्रमणलाई निस्तेज गर्न सहकारी व्यवसायको सुरक्षामा केन्द्रित भई संघका सदस्य संघसंस्थाको मागबमोजिम १० औँ हजार सहकारीकर्मीहरुको उपस्थितिमा दिवस मनाउन लागिएको हो ।

बिर्तामोडमा हुने कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार समिति, उप–समिति, कर्मचारी र सदस्यसहित भव्यताका साथ मनाउने तयारी गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालको संयोजकत्वमा ५०१ सदस्य मुल समारोह समिति, ४१ सदस्यीय सचिवालय गठन गरी प्रचारप्रसार र कार्यक्रमको भव्य तयारी पूरा भएको छ ।

कुनै पनि गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डित हुन र सहकारी संस्थाबिना समाजमा नागरिकको वित्तीय पहुँच, वित्तीय साक्षरता, एकता र नेतृत्व विकास सम्भव नहुने सन्देश दिन सहकारी दिवसको मुल उद्देश्य रहेको छ ।

कार्यक्रममा २०० जना स्वयमसेवक परिचालन हुनेछन् भने बिहानको १०ः३० बजेदेखि पूर्वतर्फ सुगम पेट्रोल पम्प, पश्चिमतर्फ भगवानचोक उत्तरतर्फ महानन्दचोक, दक्षिणतर्फ बिर्ताबजार हँुदै मुक्तिचोक परिक्रमा गरी झाँकीसहित ११ः३० बजे कार्यक्रमको उद्घाटन हुने संघले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी रहने छन् । कार्यक्रममा सहकारी व्यक्तित्व मीनराज कडेललाई सम्मान गरिनेछ ।

झापामा ७५६ सहकारी

संघका सचिव भवानीप्रसाद दंगालका अनुसार झापामा ७५६ वटा सहकारी रहेका छन् । ४२३ वटा पालिकाअन्तर्गत छन् भने ३३३ वटा सहकारी प्रदेश रजिस्ट्रार कार्यालयअन्तर्गत रहेका छन् ।

झापाका सहकारीको शेयर पुँजी १० अर्ब २२ करोड ७८ लाख ३२ हजार ४६० रुपैयाँ छ । त्यस्तै, झापाका सहकारीको बचत ५२ अर्ब १७ करोड ५४ लाख ३१ हजार ८६ रुपैयाँ, विभिन्न कोषमा ६ अर्ब ५ करोड ४५ लाख ७३० रुपैयाँ रहेको सचिव दंगालले जानकारी दिए ।

झापामा रहेका सहकारीले ६५ अर्ब ५७ करोड ५४ लाख २१ हजार १४० रुपैयाँ ऋण दिएका छन् भने वासलत भने ८२ अर्ब ७९ करोड ९६ लाख ७७ हजार ७७२ रुपैयाँ रहेको छ ।

कार्यक्रममा संघका सदस्य कृष्ण पौडेल र क्षेत्रीय सदस्य केशव बस्नेतको समेत उपस्थिति रहेको थियो ।

Adv footer