२०८१ मंसिर १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

पाँच वर्षयता बल्दैनन् बिर्तामोडका शौर्यबत्ती, मासलाइट जोड्न सुरु


मुक्तिचोक दक्षिण रहेको मासलाइटले उज्यालो देखिएको भद्रपुररोड ।

बिर्तामोड, चैत २० । पाँच वर्षयता आंशिक मात्र बल्दै आएको बिर्तामोड बजारआसपासमा जडान गरिएको शौर्यबत्ती हटाइने भएको छ ।

संघीय सरकार, बिर्तामोड नगरपालिका र उपभोक्ताको करोडौँ रकम खर्च गरेर जडान गरिएको शौर्यबत्ती काम नलाग्ने भएपछि हटाइने भएको हो ।

शौर्यबत्तीको ठाउँमा मासलाइट जडान गर्न पहल थालिएको छ । शौर्यबत्ती काम नलाग्ने भएपछि बिर्तामोडका केही ठाउँमा मासलाइट जडान गरिसकिएको छ ।

मुक्तिचोकमा एक्सेल डेभलपमेन्ट बैंकको सहयोगमा मासलाइट जडान गरिएको छ भने बिर्तामोडको बसपार्कमा बसपार्क समितिको पहलमा दुईवटा मासलाइट जोडिएको छ ।

त्यस्तै, बिर्तामोड ३ नम्बर वडा कार्यालयको सहयोगमा बिर्ताबजार र सैनिकमोडमा गरी दुईवटा मासलाइट जडान गरिएको छ ।

पाँच वर्ष वारेन्टी दिएर जडान गरिएको शौर्यबत्ती दुई वर्ष नबित्दै बिग्रिएका थिए । सोलार प्यानलको २५ वर्षको र ब्याट्री, चार्ज कन्ट्रोलर तथा लाइटको पाँच वर्षको वारेन्टी दिइएको थियो । बिर्तामोडमा जडान गरिएका अधिकांश बत्ती काम नलाग्नेगरी बिग्रिएको पाँच वर्ष भइसक्यो ।

बिर्तामोडमा शौर्यबत्ती जडान गर्नका लागि सरकारले चार करोड ६० लाख रुपैयाँ बजेट दिएको थियो । नगरपालिकाका अनुसार एउटा बत्ती जडान गर्न एक लाख १२ हजारसम्म खर्च भएको छ ।

शौर्यबत्तीमा खर्च भएकोमध्ये सरकारको ६५, बिर्तामोड नगरपालिकाको १५ र स्थानीयको २० प्रतिशत लागत छ ।

बिर्तामोडमा जडान गरिएका शौर्यबत्तीमध्ये १३३ वटा बल्ने गरे पनि २१४ वटा बल्दैनन् । उज्यालो नगर बनाउन बिर्तामोडका धेरै क्षेत्रमा २०७३ सालमा शौर्यबत्ती जडान गरिएको थियो ।

यसैबीच, पूर्वपश्चिम राजमार्गमा परेका शौर्यबत्ती भने एसियन हाइवे निर्माणका क्रममा हटाइने भएको छ भने अन्य क्षेत्रमा बिग्रिएका सोलार बत्तीलाई प्रतिस्थापन गर्ने तयारी हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer