बिर्तामोड, चैत २१ । बिर्तामोड–३ स्थित बिर्ताबजारमा मंगलबार साँझ तीनपांग्रे अटो रिक्सा दुर्घटनापछि भागेका अटो चालक पक्राउ परेका छन् ।
प्रहरीले अटो चालक बिर्तामोड–९ का ४२ वर्षीय अरुण तामाङलाई घटना भएको आधा घण्टामै पक्राउ गरेको थियो । दुर्घटनालगत्तै तामाङ अटो र घाइते यात्रुलाई घटनास्थलमै छोडेर भागेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार तामाङको ढाडमा सामान्य चोट लागेको र उपचारपपछि प्रहरी हिरासतमा राखिएको छ ।
चालक तामाङको साथबाट तत्काल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त नभएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
मंगलबार साँझ ७ः१५ बजे बिर्तामोडबाट गरामनी जाँदै गरेको प्रदेश १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्ला साबिकको डुम्रिसे–२ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको थियो ।
अर्की यात्रु ताप्लेजुङ जिल्ला पाथिभरा याङवरक–२ बस्ने ३१ वर्षीय सामना लिम्बू घाइते भएकी थिइन् । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।