२०८१ कार्तिक १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो, होसियारी अपनाउन डक्टरको सुझाव


बिर्तामोड, बैशाख २१ । झापालगायत पूर्वी तराईमा गर्मी धेरै बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ ।

दमकस्थित विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डक्टर जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै अस्पतालमा अहिले दैनिक २ सय भन्दाबढी बालबालिका उपचारका लागि आउने गरेका छन् । यो सङ्ख्या दैनिक आउने बिरामीको दोब्बर हो ।

बालबालिकामा ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता सङ्क्रामक रोगको समस्या बढेको छ । गर्मीका कारण विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीटसम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा सङ्क्रमणलगायतका समस्या देखिने गरेको उनको भनाइ छ । यो समयमा केही बच्चाले दमको लक्षणमा वृद्धि अनुभव गर्नसक्ने भएकाले पनि यो बेला अभिभावकहरुले होसियारी अपनाउनुपर्ने बताए।

गर्मीमा विभिन्न ब्याक्टेरिया र भाइरस बढी बाँच्ने हुँदा खाना र पानीबाट हुने रोग निम्त्याउने भएकाले धेरै गर्मीको यो समयमा बालबालिकाको उचित हेरचाह गर्नुपर्छ । दिनभरि प्रशस्त पानी पिउने अवस्था सिर्जना गर्न, बाहिर बजारमा पाइने कृत्रिम जुस वा चिनीयुक्त पेय पदार्थ नखान, बासी तथा सडेगलेका खाद्य वस्तुको सेवन गर्न हुँदैन, यसतर्फ बालबालिकाका अभिभावक सर्तक हुनुपर्ने डक्टरहरु सुझाव दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer