बिर्तामोड, साउन २३ । झापाको कनकाई नगरपालिकामा पाँच दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
कनकाई-१ मा बस्दै आएकी इलाम घर भएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा हिजो दिउँसो ३ः३५ बजे मृत्यु भएको हो ।
उनलाई साउन १७ गते बिहान ९ः४० बजे कनकाई–१ जुके कल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को. ३८ प ५३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ बस्ने अन्दाजी ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको डिएसपी प्रकाश विष्टले बताए । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।
उमादेवी कनकाई नगरपालिकाअगाडि अञ्जु कार्कीको होटलमा सहयोगीका रुपमा कार्य गर्दै आएकी थिइन् । उनका पतिले ३ वर्षपहिले आत्महत्या गरेका थिए ।