बिर्तामोड, साउन २६ । झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत एक हजार ७४२ घर निर्माण भएका छन् ।
स्थानीय तह, ह्याबिट्याट फर ह्युमानिटी इन्टरनेसनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा झापाका आठ स्थानीय तहमा ती घर निर्माण गरिएका हुन् ।
सहारा नेपालका सुरक्षित आवास कार्यक्रम संयोजक भीमप्रसाद भेटवालका अनुसार २०७४ सालमा आएको बाढीबाट विस्थापितका लागि ७२५ अस्थायी आवाससहित झापा र मोरङमा गरी दुई हजार ९९८ घर निर्माण गरिएका छन् ।
त्रिपक्षीय साझेदारीमा निर्माण हुने सुरक्षित आवासका लागि निम्न आय भएका र आफ्नो घर बनाउन नसक्ने परिवारका लागि सुरक्षित आवास प्रदान गरिने संयोजक भेटवालले बताए ।
सम्बन्धित स्थानीय तहको वडाले त्यस्ता लाभग्राहीको नाम छनोट गर्ने र वडाको सिफारिसका आधारमा ह्याबिट्याट, सहारा नेपाल र स्थानीय तहको संयुक्त टोलीले अनुगमन गरेर मात्र नाम छनोट हुने उनले बताए ।
जग्गा भएकाको हकमा उनीहरुकै जग्गामा घर निर्माण गर्ने गरिन्छ भने जग्गा नभएकाको हकमा स्थानीय तहले जग्गा यकिन गरेर निस्सा उपलब्ध गराएपछि मात्र घर निर्माण गरिन्छ ।
झापा र मोरङमा निर्माण भएका घरको ढाँचाअनुसार प्रतिघर लागत मूल्य एक लाख ८५ हजारदेखि ६ लाख २३ हजार रुपैयाँसम्म (जन श्रमदानबाहेक) रहेको सहारा नेपालका राजु गिरीले जानकारी दिए ।
झापामा निर्माण भएका घर १६ फिट लम्बाइ र २० फिट चौडाइका रहेका छन् । बरन्डासहित दुई कोठा र एउटा भन्साकोठा तथा सबै घरमा शौचालय अनिवार्य गरिएको छ । मोरङ जिल्लामा निर्माण भएका घर १७ फिट लम्बाइ र २२ फिट चौडाइका छन् ।
झापा गाउँपालिका सबैभन्दा बढी ८५० घर निर्माण भएका छन् । आर्थिक वर्ष २०८०–८१ मा १२० घर निर्माण भएको सहारा नेपालले जनाएको छ । गाउँपालिकाको सहकार्यमा निर्मित घरमा हस्तान्तरण नभए पनि लाभग्राहीले बसोबास सुरु गरिसकेका छन् ।
हल्दिबारी गाउँपालिका ३२, बिर्तामोड नगरपालिकामा ५१४, अर्जुनधारा नगरपालिकामा ५४, गौरीगञ्ज गाउँपालिकामा ८६, भद्रपुर नगरपालिकामा १५, बाह्रदशी गाँउपालिकामा ३३ र कनकाई नगरपालिका १५८ घर निर्माण गरिएका छन् ।
मोरङको बेलबारी नगरपालिकामा १०१, धनपालथान गाउँपालिकामा ३९ तथा कानेपोखरी गाउँपालिकामा ५५ घर निर्माण भएका छन् भने २८ घर निर्माणाधीन अवस्थामा रहेको सहारा नेपालले जनाएको छ ।