बिर्तामोड, साउन २६ । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बङ्गलाबन्धु नाका खुलेको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयातनिर्यात सहज भएको छ ।
पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेले जानकारी दिए ।
उनले भने, ‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयातनिर्यातमा सहज हुन थालेको छ ।’
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँको सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार रुपैयाँबराबरको सामग्री आयात भएको थियो ।