बिर्तामोड, साउन २७ । झापाको भद्रपुरमा रहेको ओम साई पाथिभरा अस्पतालले डिएक्सेरिबोनोक्लिक एसिड (डिएनए) परीक्षण सेवाको सुरूवात गरेको छ ।
तीन महिनाअघि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रममार्फत भारतीय ब्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट भद्रपुरमा पहिलोपटक डिएनए टेस्ट सेवा थालेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलका अनुसार ६ वर्षअगाडि अमेरिकाबाट सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा मानव जीवनमा एकपटक मात्र टेस्ट गर्दा सबै पक्षको जानकारी दिने डिएनए टेस्ट सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको हो ।
अध्यक्ष पोखरेलका अनुसार दुई वर्षमाथिका मानिसको परीक्षण हुने डिएनए टेस्टले मानिसका शरीरमा भइरहेका तथा हुनसक्ने रोगको बारेमा जानकारी दिने हुँदा शरीरभित्रका रोगको पहिचान गरी उपचार सेवाको अवसर मिलाउन सकिनेछ ।
डिएनए टेस्ट सेवाका विज्ञ डक्टर आर्सी मौलेका अनुसार छिमेकी भारतमा दुई वर्षयता सुरू भएको डिएनए टेस्ट जीवनमै एकपटक मात्र गरिने परीक्षण रहेको जानकारी दिए ।
डक्टर मौलेको भनाइमा यो टेस्टमा १३१ प्रकारका परीक्षण हुने भएकाले मानव शरीरका लागि आवश्यक तत्व, वंशाणु परम्परागत रोग, भविष्यमा आउन सक्ने रोगका बारेमा ९९.९९ प्रतिशत विश्वसनीय रिपोर्ट आउँछ ।
१६५ प्रकारका औषधि उपचारका क्रममा शरीरले स्वीकार्छ वा स्वीकार्दैन भन्ने तथ्य समेत डिएनए टेस्टबाट पत्ता लाग्ने जानकारी दिँदै डक्टर मौलेले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारी लिनका लागि एकपटक परीक्षण गर्नैपर्ने बताए ।
अस्पतालका प्रशासन प्रमुख दिप पौडेलले सञ्चालन गरेको कार्यक्रममा डिएनए परीक्षण शुल्क २५ हजार रुपैयाँ लाग्ने जनकारी दिइयो ।
कोरोनाको पिसिआर टेस्ट गर्दा जस्तै स्वाब दिएर डिएनको परीक्षण गरिने र यसका लागि कम्तिमा एक साता लाग्ने, रिपोर्ट आउन कम्तिमा ३ साता लाग्ने पौडेलले बताए ।