२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पावरटेक कम्प्युटरका सञ्चालक मेचे र कर्मचारी खनाललाई कानुनी कारबाहीको माग


बिर्तामोड, भदौ ४ । झापा बिर्तामोडको वीर अमरसिंह माविका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने माग गरिएको छ ।

बिर्तामोड–२ बेलडाँगीमा रहेको विद्यालयले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयका छात्रामाथि यौन दुर्व्यवहार गर्ने बिर्तामोडको पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र कर्मचारी नारायण खनाललाई कानुनी कारबाहीको माग गरिएको हो ।

उनीहरूले व्यावहारिक अभ्यास शिक्षण (ओजेटी) का लागि पठाइएको विद्यार्थीमाथि यौन हिंसा गरेका र उनीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने विद्यालयका प्रधानाध्यापक यदु अधिकारीले माग गरे ।

१८ वर्ष पूरा भएपछि आए आइफोन किनिदिने भन्दै उनीहरूले विद्यार्थीको संवेदनशील अङ्गमा छुने, सुम्सुम्याउने, नदिए ओजेटीको प्रमाणपत्र नै नदिने र विद्यार्थीलाई घुम्न जान दबाब दिने जस्ता त्रास देखाएर छात्राहरूमाथि यौन हिंसा गर्ने गरेको प्रधानाध्यापक अधिकारीको भनाइ छ ।

विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेसँगै मेचे र खनाल पक्राउ परेका थिए । तर, मेचे रिहा भएका छन् भने खनालमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

बिर्तामोडस्थित भद्रपुररोडमा रहेको पावरटेक कम्प्युटरमा व्यावहारिक अभ्यास शिक्षण (ओजेटी) का लागि पठाएका विद्यार्थीमाथि भएको यौन दुर्व्यवहारपछि उनीहरूलाई कारबाही गर्न विद्यालयले माग गर्दै आफ्ना विद्यार्थी फिर्ता बोलाएको छ ।

गत साउन ३२ गते छात्रामाथि यौन दुर्व्यवहार भएको विद्यालयले जनाएको छ । वीर अमरसिंह माविमा २०७४ सालदेखि कम्प्युटर इन्जिनियरिङ अध्ययन हुँदै आएको छ ।

कोर्सअनुसार विद्यार्थीले एसइइ परीक्षापछि ३०० घण्टा, कक्षा ११ को परीक्षापछि ३०० घण्टा र कक्षा १२ को फाइनल परीक्षापछि ६०० घण्टा ओजेटीमा सहभागी हुनुपर्छ । त्यसपछि मात्र विद्यार्थीको १०० पूर्णाङ्कको परीक्षा पूरा हुने नीति राष्ट्रिय परीक्षा बोर्डको छ ।

त्यसका लागि विद्यालयले बिर्तामोड क्षेत्रका विभिन्न कम्प्युटर पसल तथा इन्स्टिच्युटहरूमा विद्यार्थीलाई ओजेटी गराउँछ ।
त्यसैक्रममा पावरटेकमा पठाइएका छात्रामाथि यौन दुर्व्यवहार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer