बिर्तामोड, मंसिर १२ । झापाको पहिलो स्नातक तहको इन्जिनियरिङ कलेज बिर्तामोडस्थित पाथिभरा इन्जिनियरिङ कलेजले पत्रकारितामा एआइ (कृत्रिम बौद्धिकता) को प्रयोगबारे प्रशिक्षण दिएको छ ।
बिर्तामोड नयाँ बसपार्कस्थित कलेजको सभाहलमा आयोजित प्रशिक्षणमा झापाका २६ जना पत्रकारको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत अनुज पराजुलीले बताए ।
प्रशिक्षणमा कलेजका वरिष्ठ कम्प्युटर इन्जिनियर प्राध्यापक शितलकुमार मण्डल र रोशन भट्टराईले फोटो, अडियो, भिडियो निर्माण, कन्टेन्ट क्रियसन र सर्च इन्जिन अप्टिमाइजेसनका बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष युवराज प्रसाईंले गरेका थिए । प्रशिक्षणले पत्रकारको दैनिक कार्यका लागि सहयोगी र उपयोगी भूमिका खेल्ने पराजुलीले बताए ।
यसैबीच, कलेजकै आयोजनामा बिइ सिभिल र कम्प्युटर इन्जिनियरिङ चौथो सेमेस्टरका विद्यार्थीहरूलाई ‘प्रपोजल राइटिङ’ का विषयमा कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा वरिष्ठ कम्प्युटर इन्जिनियर प्राध्यापक शितलकुमार मण्डलले सहजीकरण गरेका थिए ।
कलेजले नियमित पाठ्यक्रमका विषयबाहेक जीवनोपयोगी विभिन्न सीपहरू, अतिरिक्त कक्षा, सेमिनार, वर्कसपमार्फत नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।