बिर्तामोड, मंसिर २२ । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक झापासहित देशभरको मौसममा आंशिक तथा साधारण बदली आएको छ ।
झापासहित पूर्वी तराईमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
शुक्रबार साँझै नेपाली आकाशमा त्यसको संकेत देखिएको मौसमविदले जानकारी दिएका छन् । यो प्रणालीको असरले आइतबार साँझदेखि नेपालका धेरै स्थानमा थप बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार साँझदेखि सोमबार साँझसम्म कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
साथै, कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यो मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।