
बिर्तामोड, मंसिर २७ । वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिने प्रलोभन देखाएर ठग्ने एकजना झापालीसहित दुईजना पक्राउ परेका छन् ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्याउने झापा गौरादह-१ का ३६ वर्षीय सुदिप घिमिरे र कञ्चनपुर भीमदत्त-२ का ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ पक्राउ परेका हुन् ।

काठमाडौँबाट पक्राउ परेका घिमिरेले दुईजनासँग १२ लाख रुपैयाँ लिएको काठमान्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यस्तै, कण्ठले दुईजनासँग दुई लाख रुपैयाँ ठगेको प्रहरीको भनाइ छ ।

उनीहरुलाई आज काठमान्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनीहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमान्डू पठाइएको छ ।






