२०८१ मंसिर २९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हिउँदमा सरदरभन्दा कम वर्षा हुने


बिर्तामोड, मंसिर २८ । यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । पछिल्लो समय जलवायु परिवर्तन लगायतका कारणले कहिले धेरै पानी पर्ने, कहिले पर्दै नपर्ने जस्ता समस्या देखिन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) का अनुसार हिउँद अवधि मंसिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । त्यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ ।

हिउँद अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ । कोशी प्रदेशका दक्षिणी भू–भाग र मधेस प्रदेशका पूर्वी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश, मधेस प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको पश्चिमी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको उल्लेख छ ।

त्यस्तै, महाशाखाले देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत अनुमान गरेको छ ।

हिउँदमा गहुँ, मुसुरो, तोरी, आलु, जौ लगायतका बाली लगाउने प्रचलन छ । हिउँदमा देशभर सरदर भन्दा कम वर्षा, अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदर भन्दा बढी हुँदाले कृषि क्षेत्र प्रभावित हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer