२०८१ पुष ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मिटर बाइपास गरेर विद्युत चोर्ने हल्दिबारीका आठवटा मिटर जफत


बिर्तामोड, पुस ३ । झापाको हल्दिबारीमा मिटर बाइपास गरेर विद्युत चुहावट गरिरहेका आठवटा मिटर जफत गरिएको छ ।

विद्युत मिटरमा बाइपास गरी विद्युत चुहावट गरिरहेको अवस्थामा हल्दिबारी-१ गोलधापबाट ती मिटर जफत गरिएको अनारमनी वितरण केन्द्रका प्रशासन प्रमुख प्रकाश विश्वकर्माले बताए ।

७ वटा घरबाट र एउटा सिँचाइको मिटरमा बाइपास गरेर विद्युत चुहावट गरेको भेटिएको उनले जानकारी दिए । ग्रामीण क्षेत्रमा हुकिङ गरेर विद्युत चोरी गर्ने क्रम अझै भेटिन्छ भने बाइपास गरेर विद्युत चुहावट धेरैले गरिरहेका छन् ।

यसैबीच, नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रअन्तर्गत दश प्रतिशतभन्दा बढी विद्युत चुहावट भएपछि चुहावट नियन्त्रण अभियान थालिएको छ ।

नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रमा १० प्रतिशतभन्दा बढी चुहावट भएको छ । आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनअनुसार चुहावटका कारण अनारमनी वितरण केन्द्रलाई १०.४५ प्रतिशत घाटा लागेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा चुहावट १३.१७ प्रतिशत रहेकोमा यस वर्ष १०.४५ प्रतिशतमा झार्न सफल भएको अनारमनी वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले बताए ।

अनारमनी वितरण केन्द्रअन्तर्गत ९३ हजार ४१८ ग्राहक रहेका छन् । त्यसमध्ये गार्हस्थतर्फ ७६ हजार ७०८, औद्योगिकतर्फ १३०९, व्यापारिकतर्फ ८४० र अन्यतर्फ १४ हजार ५६१ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer