
बिर्तामोड, बैशाख ४ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) कोशी प्रदेशका तीन जिल्लाको संयुक्त बैठकले संघमा आवद्ध व्यवसायी सदस्यहरुलाई मात्र संघको लोगो प्रयोग गर्न आग्रह गरेको छ ।
झापाको दमकमा आज भएको एनसिडिए झापा, मोरङ र सुनसरी जिल्लाको संयुक्त बैठकले संघमा आवद्ध नभएका व्यवसायीहरुले लागो प्रयोग गरिरहेको भए तत्काल सदस्यता लिएर मात्र लोगो प्रयोग गर्न आग्रह गरेको हो ।
त्यस्तै, नवीकरण नगरेका तथा दर्ता प्रक्रियामा नआएका व्यवसायीहरुलाई यही असार मसान्तसम्म संघको सदस्यता लिन आग्रह गर्ने निर्णय गरिएको सुनसरी अध्यक्ष दिपेन्द्रकुमार शाहले बताए ।
झापा, मोरङ र सुनसरीका केही व्यवसायीहरुले संघमा आवद्ध नभई पसलको बोर्डमा संघको लोगो प्रयोग गरिरहेका पाइएपछि यस्तो निर्णय गरिएको मोरङ अध्यक्ष देशबन्धु ढकालले बताए ।
यसैबीच, केन्द्रीय समितिद्वारा परिपत्र गरिएको थोक व्यवसायमा लागु हुने एनओसी तीनवटै जिल्लामा पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने संयुक्त बैठकले प्रतिबद्धता जनाउने निर्णय गरेको झापा अध्यक्ष जीवनकुमार खड्काले बताए ।
त्यस्तै, झापा, मोरङ र सुनसरीमा पिडिसी चेक जारी नगर्ने, यदि कम्पनीसँग कारोबार गर्दा नगद वा बाँकीमा मात्र कारोबार गर्ने निर्णय गरिएको र थोक व्यवसायीलाई परिपत्र गर्ने झापाका थोक उपाध्यक्ष बुद्धिशेखर बजगाईंले बताए ।
त्यस्तै, केन्द्रीय समितिद्वारा जारी क्षतिपूर्ति नियमावली अक्षरशः पालना गर्न तीनवटै जिल्लाका अध्यक्ष प्रतिबद्ध रहेको मोरङका थोक उपाध्यक्ष जितु रजकले जानकारी दिए ।
त्यस्तै, खुद्रा र थोकका जटिल समस्याहरु तीनवटै जिल्लाका थोक र खुद्रा उपाध्यक्षहरुले संयुक्त रुपमा संकलन गरी आगामी बैठकमा निर्णयका लागि पेस गर्ने आजको बैठकले निर्णय गरेको सुनसरीका महासचिव नविनराज गौतमले बताए ।
त्यस्तै, अस्पताल फार्मेसीमा नेपाली तथा विदेशी कम्पनीहरुले प्रत्यक्ष आपूर्ति गरिरहेकोमा तत्कालका लागि आपूर्ति गर्दा सम्बन्धित जिल्लाका थोक बिक्रेतालाई जानकारी दिई र आपूर्ति गरिएका उत्पादनलाई आइएनएस छाप अनिवार्य लगाउन बैठकले आग्रह गरेको झापाका खुद्रा उपाध्यक्ष राकेश शाहले बताए ।
त्यस्तै, खुद्राका विविध समस्याहरुका बारेमा मोरङका महासचिव अरुणकुमार ठाकुर ब्रह्मण र झापा सचिव यज्ञराज कार्कीले धारणा राखेका थिए ।
झापा अध्यक्ष खड्काको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य गौतम गुप्ताले विविध विषयमा प्रस्ट्याएका थिए भने झापाका थोक उपाध्यक्ष बजगाईंले स्वागत गरेका थिए ।
संघको संयुक्त पहिलो बैठक मोरङमा भएको थियो भने दोस्रो बैठक आज झापामा भएको हो । संयुक्त तेस्रो बैठक सुनसरीमा हुनेछ ।