
बिर्तामोड, बैशाख २५ । झापा कोरा राइड २०२४ कार्यक्रममार्फत साइक्लिस्टहरुबाट संकलन गरिएको रकमले निःशुल्क आँखाको शल्यक्रिया गरिने भएको छ ।
गत वर्षको राइडबाट संकलित रकम विपन्न मानिसको आँखाको शल्यक्रियामा खर्च गर्ने घोषणाबमोजिम कार्यान्वयनमा ल्याइएको हो । राइडबाट ८४ हजार रुपैयाँ संकलन भएको थियो ।
हाल इलामको सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा सम्पन्न निःशुल्क आँखा शिविरबाट २९ जना आँखाका रोगीलाई शल्यक्रियाका लागि सल्लाह दिइएको बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत विनोद दाहालले बताए ।
बिर्तामोड आँखा अस्पतालले प्राविधिक सहयोग गरेको उक्त शिविरका संयोजक समेत रहेका दाहालका अनुसार २९ जना नेत्ररोगीको मोतियाविन्दुको शल्यक्रिया झापा कोरा टिम र गिफ्ट अ भिजनमार्फत गरिनेछ ।
शल्यक्रिया गर्नुपर्ने अधिकांश बिरामीहरु ज्येष्ठ नागरिक रहेको र कोरा राइडको रकम अपुग हुने भएकाले अन्य स्रोतबाट जुटाइने बताइएको छ ।