२०८२ जेठ २६ सोमबार
Jhapa Today
Adv top

झापामा डेंगु संक्रमण सुरु, बिर्तामोड उच्च जोखिममा


बिर्तामोड, जेठ २६ । झापामा डेंगु सङ्क्रमितको संख्या ३९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापाको बिर्तामोडमा डेंगु संक्रमण बढी देखिएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ३७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । घना सहर भएका कारण बिर्तामोड डेंगुको उच्च जोखिममा रहने गरेको छ ।

दमक र गौरादह नगरपालिकाका एकएकजनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । उनका अनुसार विगतका वर्षहरुजस्तै यस वर्ष पनि डेंगुको संक्रमण सुरु भइसकेको छ ।

डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ । गत वर्ष झापामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । हालसम्म एक हजार ८१ जना संक्रमित भएका छन् ।

सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् ।

डेंगु ज्वरो एक गम्भीर रोग हो, जुन सामान्यतया पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । यस रोगबाट बच्न हामीले केही सजगता अपनाउनुपर्छ ।

Adv footer