
बिर्तामोड, असार २ । झापाको बिर्तामोडमा हुने दोस्रो संस्करणको हेल्थ टुरिजम मार्टको तयारी सुरु गरिएको छ । हेल्थ टुरिजम मार्ट यही असार १४ गते हुनेछ ।

बिर्तामोडलाई स्वास्थ्य र पर्यटनको संगमस्थल बनाउने दीर्घकालीन दृष्टिकोणका साथ मार्ट हुन लागेको आज बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोशी पर्यटन वर्ष मनाइरहेको बेला झापाका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, होटल व्यवसायीहरुको सहभागितामा मार्ट हुन लागेको कार्यक्रम संयोजक शेखर ढकालले जानकारी दिए ।

हेल्थ टुरिजम मार्टमार्फत नेपालीका साथै छिमेकी राष्ट्र भारत, बंगलादेश र भुटानका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा उपचारको जानकारी र सहज पहुँचका बारेमा मार्टमा छलफल हुने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) कोशीका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।

स्वास्थ्य सेवा र पर्यटन व्यवसायबीच सहकार्यको वातावरण सिर्जना, अस्पताल, क्लिनिक, आयुर्वेद केन्द्र, ट्राभल एजेन्सी र होटल व्यवसायीहरूबीच नेटवर्क निर्माण, नेपालका गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धन गर्ने मार्टले उद्देश्य लिएको नाट्टा महासचिव नविन खरेलले बताए ।

त्यस्तै, भारत, बंगलादेश, भुटानका नागरिकहरूलाई नेपालमा उपचारका लागि आकर्षित गर्न, पूर्वी नेपाललाई हेल्थ टुरिजम हबको रुपमा परिचय गराउन, बिर्तामोड लगायत झापा, मोरङ, सुनसरी क्षेत्रका स्वास्थ्य पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने मार्टको उद्देश्य रहेको छ ।

त्यस्तै, स्वास्थ्य पर्यटनसम्बन्धी नीति निर्माण र सहकार्यका लागि आधार तयार गर्न, स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यको सम्भावना प्रस्तुत गर्न, सामुदायिक स्वास्थ्य सचेतना र प्रविधिमैत्री उपचार प्रवद्र्धन गर्न मार्टले भूमिका खेल्ने संयोजक ढकालले बताए ।
मार्टमार्फत स्वास्थ्य र पर्यटनको एकीकरण, दिगो विकासको सम्भावना, सीमापार स्वास्थ्य पर्यटनको सम्भावना, स्थानीय अर्थतन्त्रमा योगदान, होटल, यातायात, रेस्टुरेन्ट, उपचार केन्द्रलगायतका क्षेत्रहरूमा रोजगारी र आय आर्जनमा वृद्धि हुने पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बताए ।
मार्टमा सञ्चारकर्मी, हेल्थ टुरिजम विज्ञ तथा योजनाकार, बिर्तामोड नगर प्रतिनिधि, हेल्थ तथा टुरिजम क्षेत्रमा संलग्न व्यवसायी लगायतले सहभागिता रहने हाटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।
नाट्टा कोशी प्रदेशको सहकार्यमा हुने मार्ट नेपाल पर्यटन बोर्डको आयोजना तथा पर्यटन कार्यालय काँकरभिट्टा र होटल व्यवसायी संघ झापाको सहआयोजनामा हुनेछ ।