
दमक, असार १० । नेपाल औषधि व्यवसायी संघ झापा शाखाको साधारणसभाले व्यवसायी राहत कोष स्थापना गर्ने निर्णय पारित गरेको छ ।


आज झापाको दमकमा सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले कोष स्थापना गर्ने निर्णय पारित गरेको हो । आपत विपतमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिने भएको हो ।

साधारणसभामा संघका अध्यक्ष जीवनकुमार खड्काले कोष स्थापनाको प्रस्ताव राखेका थिए । बन्दसत्रले कोष स्थापना गर्न आवश्यक नियम तथा विनियम बनाउन समिति बनाउने निर्णय गरेको छ ।

सभाले थोक उपाध्यक्ष बुद्धिशेखर बजगाईं संयोजक तथा राजेश बोहोरा र भुवन निधि सदस्य रहेको समिति बनाएको उपकोषाध्यक्ष लक्ष्मी पौडेलले बताए ।
यसैबीच, संघका महासचिव विष्णुप्रसाद पौडेलले संगठानिक प्रतिवेदन र कोषाध्यक्ष युवराज भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदनलाई हलले सर्वसम्मत पास गरेको थियो ।


२०८० असोज २८ गते कार्यभार सम्हालेयता संघले २३५ जना व्यवसायीहरुलाई सदस्यता प्रमाणपत्र पसलमै पुगेर वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, दमक नगरपालिकासँग समवन्य गरी पाँचपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दमक नगरपालिका ६ नम्बर वडा कार्यालयमा लागुऔषध सम्बन्धी एक दिने सचेतानामुलक कार्यक्रम गरेको छ ।


कनकाई नगरपालिकामा रहेको पुकार अपाङ्ग समाज झापामा औषधिजन्य र खाद्य सामग्री वितरण गरेको छ । त्यस्तै, बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई लागुपदार्थ सेवन जाँच किट ५० थान हस्तान्तरण गरेको छ । संघमा आवद्ध औषधि व्यवसायीहरुले मात्र संघको लोगो प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै, साधारणसभाले विभिन्न तालिमहरु सञ्चालन गर्ने, थोक तथा खुद्रा व्यवसायीहरुको भेला गराउने, संघको कार्यालय मर्मत तथा सम्भार गर्ने, इकाइ समिति गठन गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने आगामी योजना बनाएको छ ।
दमकमा भएको साधारणसभालाई प्रमुख अतिथि कोशी प्रदेश अध्यक्ष धनराज काफ्ले, साविक मेची शाखाका अध्यक्ष गोपाल सापकोटा, राजेन्द्रकुमार ढकाल, झापा शाखाका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य गौतम गुप्ता, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, एनएमएसआरए बिर्तामोड अध्यक्ष कृष्ण पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
संघका अध्यक्ष जीवनकुमार खड्काको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन महासचिव विष्णुप्रसाद पौडेल, स्वागत वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद अधिकारी तथा थोक उपाध्यक्ष बुद्धिशेखर बजगाईंले समापन गरेका थिए ।