
बिर्तामोड, साउन ६ । मनसुनका बेला बढ्ने डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले तीन महिनासम्म अभियान चलाउने निर्णय पनि भएको छ ।

सचिव बैठकले गरेको निर्णय अनुसार साउन, भदौ र असोज महिनासम्म अभियान सन्चालन हुनेछ । यो अवधिमा लामखुट्टेको बासस्थान र लार्भा खोजेर नष्ट गरिनेछ ।

त्यसका लागि बिहान साढे ९ बजेदेखि सरसफाइ कार्यक्रम तथा प्रचार प्रसार अभियान सन्चालन गरिने छ ।
लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण नेपालको एक प्रमुख स्वास्थ्य समस्या हुने गरेको छ । मनसुनको बेला जताततै पानी जम्ने र त्यहाँ लामखुट्टेले बच्चा हुर्काएर संख्या बढाउने भएकाले यसलाई रोक्नु चुनौतिपूर्ण हुने गरेको छ ।

नेपालमा २०६१ सालदेखि डेंगी संक्रमण सुरु भएको थियो । त्यसयता यो रोग प्रत्येक वर्ष कहिले महामारीको रुपमा त कहिले छिटपुट रुपमा देखिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २०८० साल वैशाखदेखि पुस महिनासम्म ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएर प्रकोपको रुप लिएको थियो । त्यसैले मन्त्रालयले २०८१ सालमा डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना जारी गरेको थियो ।

सोही कार्ययोजना अनुसार लामखुट्टेको बासस्थान र लार्भा नष्ट खोजी गरी नष्ट गर्ने, सरसफाइ गर्ने अनि स्वास्थ्य सचेतनाका कार्यक्रम चलाउने काम अभियानकै रुपमा चलाउने गरिएको छ ।

साथै, सर्पदंशबाट हुने मृत्युदर घटाउन सचेतना, जोखिम न्यूनीकरण र उपचारको प्रभावकारी व्यवस्था मिलाउने निर्णय समेत भएको छ । यी व्यवस्था मिलाउने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ ।