२०८२ भदौ ४ बुधबार
Jhapa Today
Adv top

चिकित्सक विदेशिने संख्या बर्सेनि बढ्दै


बिर्तामोड, भदौ ४ । नेपालमा चिकित्सा क्षेत्रबाट योग्य जनशक्तिको निरन्तर पलायन भइरहेको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार डाक्टरहरु विदेश जाने संख्या बर्सेनि बढ्दो छ ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष विदेशिने चिकित्सकको संख्या बढिरहेको छ । सबैभन्दा बढी चिकित्सक अमेरिका जान इच्छुक देखिएका छन् ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको संख्या ३८ हजार ४९९ छ । जसमा ११ हजार विशेषज्ञ छन् । तीमध्ये केही विदेशी चिकित्सक पनि छन् । मेडिकल काउन्सिलमा दर्ता चिकित्सकमध्ये अहिले नेपालमा कति छन्, यकिन तथ्यांक छैन ।

नेपाल चिकित्सक संघले २०७२ सालमा गरेको अध्ययनमा करिब ३६ प्रतिशत चिकित्सक देशबाहिर थिए । त्यसबेला काउन्सिलमा दर्ता भएका १७ हजार चिकित्सकमध्ये करिब ११ हजार मात्रै देशमा थिए ।

पछिल्लो समय कार्यस्थलमा सुरक्षाको प्रत्याभूत नभएको, पढाइ र समयको लगानीअनुसार तलब नभएको र नेपालमा करिअर नदेखेर चिकित्सक विदेशतर्फ आकर्षित भइरहेका छन् । जसको स्पष्ट संकेत मेडिकल काउन्सिलले प्रदान गर्ने ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ तथ्यांकबाट देखिन्छ ।

नेपालमा दर्ता रहेका चिकित्सकले विदेशमा अध्ययन वा काम गर्नका लागि नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिनुपर्छ । विदेशी नियामक निकायमा दर्ता हुन आवश्यक पर्ने गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएका सबै व्यक्ति विदेश नै जान्छन् भन्ने चाहिँ हुँदैन ।

काउन्सिलका अधिकारीका अनुसार ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ पत्र लिएकामध्ये ७० प्रतिशतभन्दा बढी विदेश गएको अनुमान छ ।

आर्थिक वर्ष २०८१/०८२ मा विदेशमा अध्ययन वा कामका लागि चारित्रिक प्रमाणपत्र लिने चिकित्सकको संख्या २ हजार ६८१ छ । सन् २०२३ मा दुई हजार ३१८ जनाले गुड स्ट्यान्डिङ सर्टिफिकेट लिँदा २ हजार ६९२ जना डाक्टरले दर्ता लिएका थिए ।

त्यस्तै, सन् २०२२ मा २ हजार ६९२ जना डाक्टर दर्ता हुँदा गुड स्ट्यान्डिङ सर्टिफिकेट १ हजार ९५४ जनाको रहेका छन् । सन् २०२२ मा एक हजार ९५४, सन् २०२१ मा एक हजार ३२७ र सन् २०२० मा ८६९ जनाले यो सर्टिफिकेट लिएका थिए ।

सन् २०२१ मा १ हजार ३२७ जनाले असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यो वर्ष १ हजार ७१६ जना डाक्टर दर्ता भएको मेडिकल काउन्सिलको तथ्यांक छ । सन् २०२० मा भने २ हजार १३१ जना डाक्टर दर्ता भएका थिए । सोही वर्ष ७५९ जनाले गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएका थिए ।

अध्ययन, फेलोसिपप, श्रमिक भिसा र डिपेन्डेन्टलगायत प्रक्रियाबाट जानेको एकीकृत तथ्यांक कसैले नराखेकाले विदेशिनेको संख्या अझ बढी हुनसक्ने मेडिकल काउन्सिलका अधिकारी बताउँछन् ।

गत पाँच वर्षमा ९ हजार डाक्टरले मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएका छन् । यसरी प्रमाणपत्र लिनेमध्ये सबैभन्दा बढी अमेरिका जाने प्रक्रियामा लाग्ने चिकित्सक छन् ।

Adv footer