बिर्तामोड, भदौ १६ । झापा बिर्तामोडको स्वर्गिक बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताहरुको लाखौँ निक्षेप फिर्ता नगरेपछि प्रहरीमा उजुरी परेको छ ।

सहकारीले आफ्नो बचत फिर्ता दिन नमानेपछि बिर्तामोडका तीनजना महिलाले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा उजुरी दिएका हुन् । बिर्तामोड-७ का उर्मिला राई, अनिता श्रेष्ठ र धनमान बाङ्देलले उजुरी दिएका हुन् ।

बिर्तामोड-५ को पाथिभरा टोलमा रहेको सो सहकारी संस्थाले दुईवटा खातामा रहेको आफ्नो १ लाख १० हजार ८०० रुपैयाँ बचत फिर्ता नदिएको उर्मिला राईले जानकारी दिइन् ।

अन्य धेरै सदस्यहरुको लाखौँ बचत फिर्ता नगरेको बताइएको छ । कार्यालय बन्द गरी संस्थाका पदाधिकारी र कर्मचारीहरु भागेर हिँड्ने गरेको बिर्तामोड ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेलले बताए । प्रहरीले पक्राउ गरी कारबाही गर्न खोज्दा अध्यक्ष टेकबहादुर भट्टराई नभेटिएको वडा अध्यक्ष खरेलले जानकारी दिए ।

सहकारीका अध्यक्ष भट्टराईले अहिलेको प्रतिकूल परिस्थितिका कारण बचत फिर्ता गर्न अप्ठ्यारो परिरहेको बताए । उनले क्रमिक रुपमा सबैजनाको बचत फिर्ता गरिरहेको जानकारी दिए ।
