
बिर्तामोड, भदौ २८ । जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २४ गतेदेखि झापा जिल्लामा जारी गरिएको कर्फ्यु भोलि भदौ २९ गते बिहानसम्म कायम रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना निकालेर कर्फ्यु भोलि भदौ २९ गते बिहान ६ः०० बजेसम्म जारी रहने जानकारी दिएको हो ।

जिल्लामा जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीको आदेशमा कर्फ्यु जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार आज शनिबार बिहान ११ः०० बजेदेखि बेलुकी ५ः०० बजे सम्म कडाकर्फ्यु लागु भएको छ ।

त्यस्तै, सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग्य सामान खरिद गर्नका लागि बिहान ६ः०० बजेदेखि बिहान ११ः०० बजे र बेलुका ५ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म कर्फ्यु खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

यसैबीच, एम्बुलेन्स, शववाहन, दमकल, रेडक्रस स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्रसहितका सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्न सकिने कार्यालयले जनाएको छ ।
अत्यावश्यक कार्यका लागि छुट्याइएको समयबाहेक कुनै पनि जुलुस, धर्ना वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।