बिर्तामोड, भदौ २८ । सडक दुर्घटनामा गम्भीर घाइते भएका झापा कनकाईका एकजना मानिसको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएको कनकाई-२ का ६० वर्षीया सोमनाथ दंगालको मृत्यु भएको हो ।

दंगाल चढेको प्र.१–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गर्दा कनकाई ७ बिरिङ खोलाछेउमा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कनकाई-२ का ३८ वर्षीय दिनेशकुमार थपलियाको अनुहारमा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका दंगालको बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको आज बिहान ६ बजे मृत्यु भएको हो । थपलियाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
