२०८२ भदौ २८ शनिबार
Jhapa Today
Adv top

लागुऔषध कारोबार गर्ने बिर्तामोडका खरेल स्थानीयबासीको नियन्त्रणमा


बिर्तामोड, भदौ २८ । औषधिजन्य लागुऔषध बरामद भएपछि फरार रहेका झापा बिर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेललाई स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । खरेललाई आज दिउँसो नियन्त्रणमा लिइएको हो ।

बिर्तामोड बसपार्क आसपासमा रहेका उनलाई स्थानीयबासीले नियन्त्रणमा लिएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी बोलाइएको एकजना स्थानीयबासीले जानकारी दिए ।

बिर्तामोड प्रहरीले साउन १ गते बिहान बिर्तामोड–५ मंगलदीप टोलमा रहेको खरेलले सञ्चालन गरेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य लागुऔषध बरामद गरेको थियो । त्यसयता खरेल फरार रहेका थिए ।

प्रहरीले खरेलको गोदामबाट ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार ८०० क्याप्सुल र ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० एम्पुल बरामद गरेको थियो ।

त्यस्तै, ट्रामाडोल एन्ड एसिटामिनोफेन चार हजार ५० ट्याब्लेट, डाइसाइक्लोमाइन एचसिएल ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल आठ हजार ९०० ट्याब्लेट र टर्मिपलि किट्स सात हजार ६५० ट्याब्लेट बरामद गरिएको थियो ।

अर्जुनधारा–११ नारायणचोकको दंगाल मार्केटमा रहेको सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलकै स्वमित्वमा रहेको गोदामबाट औषधिजन्य लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोही गोदाममा काम गर्ने अर्जुनधारा-६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । तर, उनी जेनजी आन्दोलनकारीले प्रहरी कार्यालय आगजनी गर्दा भागेका छन् ।

Adv footer